आज असार १५ : राष्ट्रिय धान दिवस मनाइँदै


 


काठमाडौँ, असार १५ । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

धान दिवसलाई दही चिउरा खाने पर्वका रुपमा पनि मनाइन्छ । असार १५ दही चिउरा खाने दिनको रुपमा किसानमाझ लोकप्रिय पर्व हो ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् । पछिल्लो समय दही, चिउरासँगै आँपको सिजन भएकाले आँपका साथमा मासुसमेत खाने प्रचलन बढ्दै गएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो ।

प्रकाशित मिति: १५ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्