वामपन्थी एकताको प्रक्रियातिर हामी अघि बढिसक्यौँः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनु भयो ।
उहाँले नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको बताउनु भयो । उहाँले क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गर्नुभयो ।
उहाँले सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरुको पनि र जनतालाई निराश हुन नदिने गरीकन सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी कम्युनिष्टहरुको आवश्यकता सबै लोकतान्त्रिक शक्तिहरुको पनि आवश्यकता के हो भने हामी एकतावद्ध भएर त्यो भाष्य चिर्नतिर लाग्नुपर्ने हुन्छ । हामीले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरुको पनि र जनतालाई निराश हुन नदिने गरीकन सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्छ । तर यहाँ जनतालाई यहाँ केही छैन, केही भएन भनेर प्रशिक्षित गर्ने, त्यस खालको सन्देश दिन खोजिएको छ, त्यसलाई रोक्नुपर्ने हुन्छ । हामीले त्यो नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्छ । हामी एकताको प्रक्रियातिर अघि बढि नै सकेका छौँ । यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’
प्रधानमन्त्री दाहालले कम्युनिष्ट र सबै लोकतान्त्रिक शक्तिहरु एकतावद्ध भइ नकारात्मक भाष्य चिर्न लाग्नुपर्ने बताउनु भयो ।
प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार