बालेन लक्षित कांग्रेस सांसद तामाङको टिप्पणी – महानगर पैसा र बैंसले मात्तिएजस्तो छ


 


काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद तामाङले मेयर बालेनको कार्यशैलीलाई लिएर प्रश्न उठाएका हुन् ।

महानगरपालिका भित्रको काममा तीनै तहको सरकार संलग्न हुने र एकअर्कोप्रति समन्वय नगर्ने प्रवृति रहेको भन्दै उनले महानगरभित्र एउटै सरकारले काम गर्ने वातावरणका लागि आग्रह गरे ।

सांसद तामाङले भने, ‘एउटा गीत छ–कोहीकोही मात्तिन्छ पैसाले, कोहीकोही मात्तिन्छ बैंसले दोहोरी गीत गाउँछन् । यो महानगर पालिकामा पैसा पनि बेसी भयो, बैंस पनि भयो । दुइटैले मात्तिएजस्तो छ।’

जिम्मेवारी कम भएकाले यस्तो भएको भन्दै उनले महानगरपालिकालाई जिम्मेवारी थप गर्न आवश्यक रहेको बताए ।

तीन तहको सरकारबीच समन्वय नहुँदा काठमाडौंको विकास सही दिशामा अगाडि बढ्न नसकेको सांसद तामाङले बताए ।

प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्