संसदमा पुग्यो रथी सिग्देलको कीर्ते नागरिकता प्रकरण


 


काठमाडौं । नेपाल सेनामा नेतृत्व परिवर्तनको मिति नजिकिदै गर्दा रथी अशोकराज सिग्देलको जन्ममिति कीर्ते प्रकरण पेचिलो बन्दै गएको छ ।

सिग्देलमाथि छानविनका लागि संसदमा समेत कुरा उठेको छ । आम जनता पार्टीका सांसद प्रभु शाहले शुक्रबार संसदमा बोल्दै सिग्देलमाथि छानविनको माग गरेका हुन् ।

उनको दुई वटा नागरिकता रहेको विवरण प्रमाणसहित मिडियामा आएको भन्दै यसमा सरकार मौन बस्न नमिल्ने भन्दै रक्षामन्त्रीसँग समेत यसको जवाफ माग गरेका छन् । प्रधानसेनापतिमाथि समेत यस विषयको नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाई छ ।

‘सेनाको विषयमा विवादित विषयहरु बाहिर आइरहँदा सम्बन्धित निकायले स्पष्ट किन गर्दैन ?’ उनले प्रश्न गरे,‘देशको रक्षा मन्त्रीले यस विषयमा जवाफ दिनुपर्छ । देशको सम्मानित संस्थामाथि प्रश्न उठ्दा रक्षामन्त्री चुप लागेर बस्न मिल्दैन ।’

रथी सिग्देलका कारण सिंगो नेपाली सेना बदनाम भइरहेको छ । उनले जन्ममिति सच्याएर नागरिकताको प्रतिलिपि र शैक्षिक प्रमाणपत्र सच्याएको प्रमाणसहितका विवरण बाहिर आएका छन् ।

तर, पनि सेनाले उनकै सिग्देललाई भावी प्रधानसेनापतिका रुपमा अघि बढाएपछि सेनामाथि सर्वत्र प्रश्न उठेको छ । यसले सिंगो संगठन नै बदनाम हुँदै गएको भन्दै छानविनको माग सेनाभित्रै पनि उठ्न थालेको छ ।

प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्