अदालतद्वारा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको सजायसम्बन्धी निवेदन खारेज
पाकिस्तान । इस्लामाबादको एक अदालतले बिहीबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी श्रमतीको विवाहलाई इस्लामिक कानूनअन्तर्गत अवैध ठहर गरी दिइएको कारागारको सजाय निलम्बन गर्ने निवेदनलाई खारेज गरेको छ ।
सन् २०२२ अप्रिलमा अपदस्थ भएपछि खान दुई सयभन्दा धेरै कानूनी मुद्दामा फस्नुभएको छ । उहाँले यसलाई आफूलाई सत्ताबाट बाहिर राख्ने अभियान भन्नुभएको थियो ।
एकहत्तर वर्षीय खान र उहाँकी श्रीमती बुशरा बिबी दुवैलाई इस्लामिक कानूनअनुसार बिबीको सम्बन्धविच्छेद भएलगत्तै विवाह भएको आरोपमा फेब्रुअरीमा सात वर्षको कारागार सजाय सुनाइएको थियो ।
इस्लामाबाद जिल्ला अदालतमा रहेका एएफपीका पत्रकारहरूका अनुसार एक न्यायाधीशले उहाँहरूको सजाय निलम्बन गर्ने निवेदनलाई स्थगित गर्नुभयो र जुलाई १२ मा फैसला सुनाउने बताउनुभयो ।
सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्रीका रूपमा काम गर्नुभएका खानलाई गत वर्ष अगस्टमा हिरासतमा राखिएको थियो र पदमा उम्मेदवार हुनबाट वञ्चित गरिएको थियो ।
यद्यपि पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार र उहाँकी श्रीमतीलाई अप्रिलमा पाकिस्तान उच्च अदालतले भ्रष्टाचारको आरोपमा १४ वर्षको कारागार सजायलाई निलम्बन गरेको थियो ।
खानलाई देशद्रोहको आरोपमा दिइएको १० वर्षको सजाय यसै महिना उल्टिएको थियो तर उहाँ अवैध विवाहको आरोपमा राजधानी इस्लामाबादको दक्षिणी भागमा रहेको आदियाला कारागारमा हुनुहुन्छ ।
पाकिस्तानको फेब्रुअरी ८ को निर्वाचनका बेला तीन वटा सजाय भोग्नुअघि उहाँलाई रिहा गर्न अनुमति दिइएको थियो ।
प्रधानमन्त्री शहबाज शरिफका सल्लाहकार राणा सनाउल्लाहले यसै साता भन्नुभयो, “सरकारले उहाँलाई यथासम्भव लामो समयसम्म बन्दी राख्ने प्रयास गर्नेछ ।”
विश्लेषकहरूका अनुसार दशकौँसम्म प्रत्यक्ष शासन गरेको र अहिले पनि अपार शक्तिको प्रयोग गरेको पाकिस्तानको सेना सम्भवतः यो मामिलाको पछाडि छ ।
कुनै बेला आफूलाई समर्थन गर्ने शीर्ष जनरलहरूसँगको अनबनपछि खानलाई संसदीय अविश्वासको मतले प्रधानमन्त्रीबाट बर्खास्त गरिएको थियो ।
प्रकाशित मिति: १३ असार २०८१, बिहिबार