मधेश सरकारको ‘रेडबुक’ पुनर्लेखन गर्ने सर्वदलीय सहमति


 


वीरगन्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ‘रेडबुक’ पुनर्लेखन गर्ने भएको छ । प्रदेश सांसदका धेरै योजनाहरू छुटेपछि सर्वदलीय बैठकको सुझाव अनुसार सरकारले ‘रेडबुक’ मा बजेट थप्ने आन्तरिक सहमति गरेको हो ।

बजेटमा प्रदेश सांसदका योजनाहरू नराखिएको भन्दै सरकारको व्यापक आलोचना भइरहेको थियो । सांसदहरूले बजेट नै पास नगर्ने चेतावनी दिन थालेपछि प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बजेटमा भएको त्रुटिबारे सुझाव लिन बिहीबार(आज) सर्वदलीय बैठक डाकेका थिए ।

प्रदेशसभामा रहेका १० वटा दलहरूको सहभागितामा बसेको बैठकमा सरकारले आगामी वर्ष ०८१/०८२ को ‘रेडबुक’ को कार्यक्रममा पुनर्लेखन गर्न प्रस्ताव गरेको छ । सर्वदलीय बैठकमा सत्तारुढ तथा प्रतिपक्षका दलका नेताहरूले संयुक्त रूपमा सांसदहरूको इच्छा विपरीत योजनाहरू राखिएको गुनासो गरेका थिए ।

कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले मुख्यमन्त्री स्वयम्ले राखेको सर्वदलीय बैठकमा बजेटप्रति सत्तारुढ दलदेखि प्रतिपक्षी दलहरुले असन्तुष्टि जनाएको बताए । बैठकमा व्यापक विरोध हुन थालेपछि मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीहरूबाट त्रुटि भएको स्विकार्दै बजेट सच्याउन तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

त्यसपछि ‘रेडबुक’ मा छुटेका योजनाहरू थप्न बैठकमा मौखिक सहमति भएको कांग्रेस संसदीय दलका नेता यादवले बताए । बैठकमा मुख्यमन्त्रीले सल्लाह गरेर ‘रेडबुक’ मा योजनाहरू समावेश गर्ने सहमति गरेका छन् ।

सर्वदलीय बैठकमा भएको मौखिक सहमति पालना नभए बजेट पास गर्न नदिने यादवले चेतावनी दिए । बैठकमा योजनाहरू थपेर जाने सहमति भएको मुख्यमन्त्री सिंहले बताए ।

उनले रातोपाटीसँग कुरा गर्दै भने– ‘योजनाहरू छुटेको प्रदेश सांसदहरूको धेरै गुनासा आए, त्रुटि पनि भएको छ । त्यही त्रुटिलाई सच्याउन सर्वदलीय बैठक बोलाएको पनि थिए, जुन बैठकमा योजनाहरू थपेर जाने सहमति भएको छ ।’

बजेटमा थपघट गरेर जाने गृहकार्य सुरु गरिएको मुख्यमन्त्री सिंहको भनाइ छ । उनका अनुसार केही बेवारिसे योजनाहरू पनि रेडबुकमा समावेश भएका छन् । ‘ती योजनाहरू कुनै सांसदज्यूहरूको पनि होइन, यस्ता योजनाहरूलाई हटाएर छुटेका योजनाहरू समावेश गरिनेछ,’ मुख्यमन्त्री सिंहले भने ।

सर्वदलीय बैठकमा सत्तारुढ दलहरूसँगै कांग्रेस, जसपा सहितका दलका नेताहरूको उपस्थिति थियो । प्रदेश सरकारले १ असारमा ४३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

प्रकाशित मिति: १३ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्