एसईई नतिजा आज सार्वजनिक हुँदै


 


काठमाडौँ, असार १३ । राष्ट्रिय परीक्षा बोर्डले आज (बिहीबार) एसईईको नतिजा सार्वजनिक गर्दै छ ।

बोर्डले पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्न लागेको हो ।

बोर्डका अनुसार प्राविधिक जटिलताको अवस्थाबाहेक आज नै एसईई परीक्षाको नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । नतिजा प्रकाशित गर्नका लागि आज बिहान बोर्डको बैठक बोलाइएको छ ।

नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।

निर्देशिकामा दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले तत्कालै मिति तोकेर लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । जुन विषयमा एनजी भएको हो सोही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ ।

यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन् । विद्यालय तहमा २०७२ देखि लेटर ग्रेडिङ पद्धति सुरु भएको हो ।

प्रकाशित मिति: १३ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्