कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते


 


धनगढी, असार १२ । कैलालीको जोशीपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका ३ भितरीयाका ३२ वर्षीय जयराम डंगौराको मृत्यु भएको हो ।

बिहान करिब ७ः३० बजेको समयमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डंगौराको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ ।

त्यस्तै जिल्लाको भजनी नगरपालिका ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकाहरू गम्भीर घाइते भएका छन् । विद्यालय जानेक्रममा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका हुन् । उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।

गम्भीर घाइते बालिकाहरुलाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएका उनीहरूलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्