म संसारकै भाग्यमानी छु झैँ लाग्छ: समीक्षा अधिकारी


 


काठमाडौँ । गायिका समीक्षा अधिकारीले रिस राग र डाहा मनमा पालेर केही नहुने बताएकी छन् । उनले आफू उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली भएको उल्लेख गर्दै सो क्रममा धेरैको साथ पाएकाले आफूलाई संसारकै भाग्यमानी ठान्ने गरेको बताइन् ।

‘सबैलाई एक दिन मर्नु नै पर्छ। बाँचुन्जेल रिस राग र डाहा मनमा पालेर के नै हुन्छ र ?’ अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त। मलाई उठ्न धेरैले हात दिनुभएको छ। साथ दिनुभएको छ। यसै कारण म संसारकै भाग्यमानी छु झैँ लाग्छ।’

उनले आफू सबै कलाकारको सफलतामा खुसी हुने गरेको पनि बताएकी छन् । ‘असफल हुँदा खुसी हुनेहरू धेरै भेटिन्छन्। थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरू झनै कत्ति कत्ति। म चाहन्छु, सबै कलाकारहरूलाई सफलता मिलोस्, उहाँहरूको गीत चलोस्, फिल्म चलोस्। रुँदै हिँड्न नपरोस्’, अधिकारीको भनाइ छ ।

अधिकारी पछिल्लो समयकी चर्चित गायिका हुन् । उनी हाल देश–विदेशमा आफ्नो साङ्गीतिक प्रस्तुतिमा व्यस्त रहँदै आएकी छन् ।

प्रकाशित मिति: ११ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्