राप्रपाका सांसद शाहीलाई प्रधानमन्त्रीको जबाफ – अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ !


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेद्र शाहीलाई जवाफ फर्काएका छन् ।

मन्त्रालयगत बजेटमाथि छलफलमा उठेका प्रश्नहरुको परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएको पुरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सांसद शाहीलाई जवाफ फर्काएका हुन् ।

राप्रपा सांसद शाहीले नेपालमा प्रधानमन्त्री छ कि छैन ? रुसी सेनामा भर्ना भएका नागरिक ल्याउन सरकारले के पहल गरिरहेको छ भनेर सोधेका थिए ।

आफैंमाथि प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने क्रममा भने, ‘प्रश्नकर्ता यहाँ हुनुहुन्छ कि हुनुहन्न ? नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ । अझ जोड दिएर भन्न चाहन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहन्छु राति १२ बजे रुसी सेनाको लडाइँ मोर्चामा भएकाहरुसँग फोनमा कुरा गर्ने गरेको छु ।’

प्रधानमन्त्री प्रचण्डले राति १२ बजे पनि रुस-युक्रेन लडाइँमा रहेका नेपालीहरूसँग आफूले कुरा गर्ने गरेको बताए।

नेपाली नागरिक सरकारले पठाएर रुसी सेनामा नगएको भएपनि नेपाली नागरिक रुसी सेनामा जानु र युद्धमा मारिनु दुःखद भएको उनले बताए ।

नेपाल फर्काउने विषयमा रुसी सेनामा भर्ना भएकाहरुसँग समेत राय लिएको उनले दाबी गरे ।

प्रकाशित मिति: ११ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्