राजदूत सिफारिसप्रति कांग्रेस सांसद यादवको आपत्ति


 


काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले राजदूत सिफारिसप्रति आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद यादवले यस्तो बताएका हुन् ।

उनले म्यानपावर व्यावसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रश्न गरे ।

उनले सरकारले स्वार्थ बाझिने गरी म्यानपावर व्यावसायी अबुसुफ्यान खानलाई साउदी अरबको राजदूतमा सिफारिस गरेको बताए ।

गत शुक्रबार सरकारले साउदी अरबको राजदूतमा खानसहित बिभिन्न आठ देशका लागि राजदूत सिफारिस गरेको थियो ।

सांसद यादवले भने,‘नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्येको एक साउदी अरब हो । खानगत जेठसम्म साउदी अरबमा श्रमिक पठाउने इसान ओभरसिजका सञ्चालक थिए । उनी लामो समयदेखि साउदी अरबमा श्रमिक पठाउने काम गर्दै आएका छन्। जुन देशमा श्रमिक पठाउँदै आएको छ, जहाँ कारोबार भइरहेको छ त्यही देशको राजदूतको जिम्मेवारी दिँदा सोझै स्वार्थ बाझिने गर्छ ।’

त्यसमध्ये खानको सिफारिस स्वार्थ बाझिने गरी भएको सांसद यादवको दाबी छ ।

सांसद यादवले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका २०७५ मा राजदूत नियुक्तिमा विदेशी मुलुकको स्थायी, अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्ने योग्यता तोकिएको पनि स्मरण गरे ।

खानको सिफारिसपछि म्यानपावर व्यावसायी सशंकित भएको पनि उनले बताए ।

प्रकाशित मिति: ११ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्