न्यूनबजेट विनियोजन हुँदा माग भएका सबै योजना समेट्न सकिएनः उपप्रधानमन्त्री महासेठ


 



काठमाडौँ, १० असार । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले न्यून बजेट विनियोजनले गर्दा माग भएका सबै योजनालाई समेट्न नसकिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको वैठकमा सांसदहरुले गर्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले सडक निर्माणतर्फ बजेटमा रु एक खर्ब १५ अर्ब २२ करोड विनियोजन गरिएको उल्लेख गर्नुभयो । त्यसमध्ये रु ५४ अर्ब ९२ करोड वैदेशिक ऋण र अनुदान तथा रु ६० अर्ब ३० करोड नेपाल सरकार र वैदेशिक काउन्टर पार्टबाट स्रोत जुटाइने जानकारी गराउनुभयो ।

कर्णालीको विकासका लागि सरकार संवेदनशील बताउँदै उहाँले महाकाली करिडोर निर्माणका लागि सरकार आवश्यक बजेट विनियोजन गरेको बताउनुभयो । 

उहाँले न्यून बजेट विनियोजनले गर्दा प्राथमिकीकरण चुनौतीपूर्ण भएको अवस्थामा समेत प्राप्त सीमित आर्थिक स्रोतलाई परिचालन गरी योजनामा बजेट छुट्याएको बताउनुभयो । 

विनियोजन विधेयक, २०८१ अन्तर्गत आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थमन्त्रालय, गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुहुने कार्यसूची रहेको थियो । 

आजको कार्यसूचीमध्ये परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफल भोलिको बैठकमा जारी रहनेछ । 

प्रतिनिधिसभाको अर्को बैठक आगामी यही असार ११ गते बिहान ११ बजे बस्नेछ । 

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्