सिपाहीमा घटुवा भए डीएसपी, यस्तो छ कारण


 


काठमाडौँ । प्रहरीमा बढुवा एउटा नियमित प्रक्रिया हो । तर कहिलेकाहीँ घटुवामा परेका समाचार पनि प्रकाशमा आउने गरेका छन् ।

भारतको उत्तर प्रदेश राज्यको उन्नावमा एक डीएसपीलाई घटुवा गरेर सिपाही बनाइएको छ । उन्नावको तत्कालीन सर्कल अफिसर रहेका डीएसपी कृपा शंकर कनौजियालाई घटुवा गरेर सिपाही बनाइएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार कृपा शंकरले ६ जुलाई २०२१ मा उन्नाव एसपीसँग पारिवारिक कारण देखाएर बिदा मागेका थिए । तर बिदा स्वीकृत भएपछि उनी घर नगएर अन्तै घुम्न गएको पत्ता लाग्यो ।

डीएसपी कृपा शंकरले बिदा लिएर हिँडेपछि मोबाइल बन्द गरेका थिए । पत्नीले बारम्बार फोन सम्पर्क गर्न खोज्दा मोबाइल लगातार ‘स्वीच अफ’ पाइएपछि कार्यालयमा सोधखोज गरेकी थिइन् । कार्यालयबाट कृपा शंकर बिदामा गएको जानकारी पाएपछि पत्नीले उनी घर नआएको भन्दै सहयोग माग गरेकी थिइन् ।

कुनै अप्रिय घटनाको आशङ्का गर्दै उन्नाव एसपीले प्रहरीकै एउटा टोलीलाई कृपा शंकरको खोजीमा परिचालन गरेका थिए । प्रहरीको टोलीले उनको मोबाइल नम्बरबाट खोजीलाई अघि बढायो । यस क्रममा उनको मोबाइल कानपुरको एउटा होटलमा पुगेपछि बन्द भएको जानकारी प्राप्त भयो ।

प्रहरीले उक्त होटलमा खोजतलास गर्दा कृपा शंकर एक महिला प्रहरीका साथ भेटिए । प्रमाणका रूपमा प्रहरीको टोलीले कृपा शंकर देखा परेको भिडियोसमेत लिएर गएको थियो, जसमा सीसीटीभी क्यामेरामा उनी महिला प्रहरीसँगै होटलमा प्रवेश गरेको देखिएको थियो ।

राज्य सरकारले यो प्रकरणमा कृपा शंकरलाई घटुवा गरी सिपाही बनाउन सिफारिस गरिदियो । सोही आधारमा डीएसपी कृपा शंकरलाई गोरखपुरमा सिपाहीका रूपमा खटाइएको छ ।

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्