दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु


 


एजेन्सी । दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत शरीर निकालिएको छ ।

सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा आगलागी भएको हो ।

घटनास्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने आगलागीमा परी दर्जनौँ अन्य कामदार हताहत भएको अनुमान गरिएको छ ।

यसअघि सुरक्षाकर्मीले दिएको प्रारम्भिक जानकारीमा घटनामा कम्तीमा एक कामदारको मृत्यु भएको, तीन जना घाइते भएका र अन्य २१ जना बेपत्ता भएका बताएका थिए ।

टिभी फुटेजमा जलिरहेको प्लान्टमा तारहरू जलिरहेको चरचर आवाजसँगै स–साना विष्फोट भइरहेको देखिएको छ ।

करिब दुई हजार ३०० वर्गमिटर क्षेत्रफलमा फैलिएको तीनतले कङ्क्रिट भवनमा कसरी आगलागी भएको थियो भन्नेबारे आधिकारिक जानकारी प्राप्त हुनसकेको छैन ।

लिथियम ब्याट्री जलाउँदा परम्परागत आगो निभाउने विधिबाट सम्हाल्न गाह्रो हुने भएकाले अग्निनियन्त्रकहरूलाई आगो निभाउन कठिनाइ भइरहेको बताइएको छ ।

प्लान्टको दोस्रो तल्लाबाट भागेका एक प्रत्यक्षदर्शीले बताएअनुसार आगलागीको समयमा एउटा ब्याट्री विष्फोट भएको थियो ।

स्टेशनका अनुसार पहिलो विष्फोटपछि आगो तीव्र गतिमा फैलियो र ब्याट्रीहरू एकपछि अर्को गर्दै लगातार विस्फोट भएका थिए ।

विष्फोटसँगै एक्कासी फैलिएको आगोका कारण उद्धारकर्ताहरूलाई भित्र जान र खोजी गर्न गाह्रो भएको र त्यहाँ कार्यरत कामदार आगालागीमा फसेको बताइएको छ ।

प्लान्टभित्र कम्तीमा ३५ हजार ब्याट्री रहेको अनुमान गरिएको छ । सोमबार करिब ६७ जना कामदार ड्युटीमा रहेको र अझै २१ जना अझै सम्पर्कविहीन रहेको र थप हताहत हुने आशङ्का गरिएको बताइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मन्त्री लीलाई उपलब्ध सबै जनशक्ति र उपकरणपरिचालन गरी हराइरहेका व्यक्तिको खोजी र उद्धारका लागि सक्दो प्रयास गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्