सीडीओहरुलाई गृहको निर्देशन – राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै सङ्कलन गर्नू


 


काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको भीड जिल्ला प्रशासन कार्यालयमा बढेपछि गृह मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई यस्तो निर्देशन गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले वक्तव्य जारी गर्दै सेवाग्राहीको भीड बढेको गुनासो आएका कारण जिल्ला तहबाट नभई स्थानीय तहबाटै विवरण संकलन गर्ने बताएका छन्।

गृहले २८ जिल्लामा ४३८ प्राविधिकसमेत पठाएको छ । सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

ती जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएपछि वडास्तरबाट नै परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको सहसचिव भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

स्थानीय तहसँग समन्वय गरेर विवरण दर्ता स्टेशन पनि थप गर्न पनि प्रजिअहरुलाई मन्त्रालयले अधिकार प्रदान गरेको छ ।

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्