स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै


 


काठमाडौं, असार १० । स्थानीय तहले आज (सोमबार) आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट सार्वजनिक गर्दैछन् ।

७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ । सोही व्यवस्था अनुसार यसअघिसम्म बजेट नल्याएका सबै स्थानीय निकायले आज बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हिजो (आइतबार)सम्म ३८ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।

कोशी प्रदेशका दुई, मधेश प्रदेश ६, बागमतीका ६, गण्डकी प्रदेशमा १४ लुम्बिनीका ३, सुदूरपश्चिम प्रदेशका तीन तथा कर्णालीका प्रदेशको १ स्थानीय तहले बजेट पेस गरेका छन् । आज बाँकी सात सय १५ स्थानीय तहले बजेट पेस गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्