गर्मीले साउदीमा हजारभन्दा बढी हज यात्रीको मृत्यु, कति छ तापक्रम ?


 


रियाद । साउदी अरबमा हज यात्राका क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार नाघिसकेको छ । ज्यान गुमाउने अधिकांश तीर्थयात्री इजिप्टका हुन् । दोस्रो र तेस्रो स्थानमा इन्डोनेसिया र भारतका तीर्थयात्री छन् ।

साउदी प्रशासनका अनुसार अधिकांशको मृत्युको कारण अत्यधिक गर्मी हो । बीबीसीको रिपोर्टअनुसार हालसम्म इजिप्टका ६५८, इन्डोनेसियाका २०० र भारतबाट ९८ जनाको ज्यान गएको छ ।

यसबाहेक पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सुडान र इराकबाट गएका हज यात्रीको पनि मृत्यु भएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार हज यात्राका क्रममा कयौँ अमेरिकी नागरिकले पनि ज्यान गुमाएका छन् ।

कति छ मक्का र मदिनाको तापक्रम ?

अघिल्ला केही वर्षको तुलनामा यस पटक साउदी अरबमा गर्मी निकै बढेको छ । तापक्रम ५१ डिग्री सेल्सियस नाघेको छ । गतहप्ता मात्र साउदीको मौसम विभागले मक्का र मदिनाको तापक्रम ५१ दशमलव ८ डिग्री सेल्सियस रेकर्ड गरेको थियो । दिनमा अत्यधिक गर्मी त छ नै रातिको समयमा पनि तापक्रम ४० डिग्री सेल्सियस हाराहारीमा छ । यसले पनि तीर्थयात्रीको समस्या बढाएको छ ।

हजका क्रममा तीर्थयात्रीले करिब १५ किलोमिटर हिँड्नुपर्छ । हज तीर्थयात्रीहरू पहिले एहराम बाँधेर मक्का जान्छन् । काबाको परिक्रमा गर्छन् । त्यसपछि सफा र मारवा पहाडलाई सात चक्कर लगाउँछन् ।

त्यहाँबाट मिनामा रात बिताउँछन् अनि बिहान अराफातमा जान्छन् । त्यसपछि मिनामा सैतानलाई ढुङ्गा हाने र कुर्बानी दिने काम गर्छन् । कपाल काटेर हजका लागि लगाएको एहराम फुकाल्छन् । तवाफका लागि काबा फर्किन्छन् अनि फेरि मिनामा सैतानलाई ढुङ्गा हान्छन् । हज यात्रा अन्तिममा तवाफसँग समाप्त हुन्छ ।

हिट स्ट्रोकदेखि बीपीसम्मका समस्या

हजका लागि जाने अधिकांश तीर्थयात्री ५० वर्षभन्दा माथि हुन्छन् । यिनीहरू अनेकौँ स्वास्थ्य समस्याले पीडित हुन्छन् । यस पटक गर्मीले उनीहरूको समस्या झनै बढाएको छ । साउदीमा जस्तो खालको गर्मी देखिएको छ त्यसले हिटस्ट्रोकदेखि ब्लड प्रेसरसम्म बढाइरहेको छ । बूढाबूढीको ज्यानले यो सहन नसक्ने अनि उनीहरूमा हिट स्ट्रोकको जोखिम सामान्य मान्छेको तुलनामा कयौँ गुणा हुन्छ । अधिकांश मृत्युको कारण लू जस्तो अवस्थाले गर्दा भएको डाक्टरहरूले पनि पुष्टि गरेको गार्जियनको एक रिपोर्टमा भनिएको छ ।

के गर्दैछ साउदी अरब ?

साउदी सरकारका अनुसार यो वर्ष १८ लाखले हज यात्राका लागि नाम दर्ता गरेका थिए । मृत्यु भएका आधाभन्दा बढी हज यात्रीहरू नाम दर्ता नगरी ट्राभल एजेन्टमार्फत अवैध रूपमा मक्का–मदिना पुगेका थिए । नम दर्ता नभएकाले साउदी सरकारले उपलब्ध गराएको वातानुकूलित टेन्ट वा बसको सुविधा उनीहरूले लिन पाएनन् ।

यस्ता यात्रुहरू चर्को गर्मीमा खुल्ला ठाउँमा बस्न बाध्य छन् । बीबीसीको रिपोर्टअनुसार दर्ता नगरी गैरकानुनी रूपमा आएका यात्रुलाई ट्राभल एजेन्टहरूले बिजुली र पानीको समेत व्यवस्था नभएको ठाउँमा गोप्य रूपमा राखेका छन् । एसी त परको कुरा उनीहरुले पङ्खा पनि पाउँदैनन् । गर्मीमा यस्तो स्थितिमा बस्नु धेरैका लागि घातक सावित भइरहेको छ ।

पहिला पनि हुन्थ्यो यसरी मृत्यु ?

हज यात्रामा जानेहरूको ज्यान गएको यो पहिलो पटक होइन । तर यस पटक मृतकको सङ्ख्या निकै बढी छ । बर्सेनि हज यात्रा गर्मीको यही मौसममा हुन्छ । तर साउदीमा बर्सेनि गर्मी बढ्दै गएको छ । पछिल्लो एक शताब्दीमा तापक्रम लगातार बढेको छ । सन् १८५० देखि १९०० बिचको तुलनामा अहिले तापक्रम १ दशमलव ५ सेल्सियसले बढेको छ । तापमानमा भइरहेको वृद्धि हज तीर्थयात्रीहरूका लागि घातक साबित भइरहेको छ ।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्