मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ३८ करोड बढी बिगो मागदाबी


 


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा.बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अन्त:शुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा अख्तियारले मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो।

उनीहरूले अन्तःशुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६४० अनियमितता गरेको अख्तियारले जनाएको छ ।

मुख्यसचिव अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएर अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्नका लागि ठेक्का आह्वान गरिएको थियो ।

हालका मुख्यसचिव अर्याल तत्कालीन अवस्थामा सञ्चार सचिव थिए । अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव अर्यालसहित ९ जना सरकारी कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

मुख्यसचिव अर्यालसँगै अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्परसाद पाण्डे र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

यसैगरी, आन्तरिक राजस्व विभाग लाजिम्पाटमा कार्यरत उपसचिव गणेश विक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, आन्तरिक राजस्व विभाग लाजिम्पाटका शाखा अधिकृत रविन्द्रप्रसाद पौडेल, सुरक्षण मुद्रण केन्द्र काठमाडौंका तत्कालीन लेखा अधिकृत (हाल सेवानिवृत्त) विष्णुप्रसाद गौतम, तत्कालीन शाखा अधिकृत हरिबल्लभ घिमिरे (हाल निलम्बित), सुरक्षण मुद्रण केन्द्रका खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालि ललितपुरका निर्देशक केशव शर्मा र प्रिन्ट सेल प्रालि कम्पनीलाईलाई पनि प्रतिवादी बनाइएको हो।

अन्तःशुल्क स्टिकर छपाइको ठेक्का पाएको कम्पनी प्रिन्स सेल र त्यसका निर्देशक केशव शर्मालाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ । अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

सञ्चार मन्त्रालय मातहतको सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ गते आन्तरिक राजश्व विभागका लागि अन्त:शुल्क स्टिकर छाप्न टेण्डर आह्वान गरेको थियो।

सेन्टरले आह्वान गरेको अन्त:शुल्क स्टिकर छपाइको ठेक्का २०७९ मंसिर २६ गते प्रिन्टसेल प्रालिले पाएको थियो। त्यतिबेला सञ्चार सचिव रहेका हालका मुख्यसचिव अर्याल र सेक्युरिटी प्रिन्टिङ सेन्टर सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडे थिए।

४३ करोड ३२ थान स्टिकर महंगोमा छापेपछि मुख्य सचिव अर्यालविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा अन्त: शुल्क स्टिकर महंगोमा छापेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्