तीनवटै सरकारमा कर्मचारीका ५३ हजार दरबन्दी रिक्त, सेवाप्रवाह प्रभावित


 


काठमाडौं । सरकारले संघ, प्रदेश र स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी भर्ना प्रक्रिया प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा निजामतीतर्फ ५३ हजार ७ सय २ पद रिक्त भएका छन्।

सरकारकै माग सिफारिसका आधारमा लोकसेवा आयोगले कर्मचारीको छनोट गरी सरकारसमक्ष सिफारिस गर्छ। सरकारी निकायले रिक्त पदहरूमा समयमा नै माग नपठाउँदा ती रिक्त पदहरूमा पदपूर्ति हुन नसकेको हो।

देशभरका कर्मचारीको विवरण अद्यावधिक गर्ने जिम्मेवारीमा रहेको राष्ट्रिय किताबखानाका अनुसार हाल संघ, प्रदेश र स्थानीय तहमा गरी निजामती कर्मचारीको कुल दरबन्दी १ लाख ३९ हजार २ सय २२ रहेको छ। सो दरबन्दीमध्ये तीनवटै तहमा गरी कार्यरत कर्मचारीको संख्या ८५ हजार ५ सय २० मात्रै छ।

यसरी कुल दरबन्दी र कार्यरत कर्मचारी संख्याको फरक हेर्दा तीनवटै सरकारमा गरी निजामतीतर्फ ५३ हजार ७ सय २ पद रिक्त देखिएको हो। त्यति ठूलो संख्यामा कर्मचारी दरबन्दी रिक्त हुँदा सेवा प्रवाहमा ठूलो समस्या आइरहेको बताइएको छ। नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्