घनश्याम कँडेलको साहित्य साधना सार्वजनिक


 


काठमाडौँ, असार ९ । प्राध्यापक घनश्याम कँडेलको जीवनी, व्यक्तित्व, कृतित्वमा आधारित ‘घनश्याम कँडेलको साहित्य साधना’ शीर्षकको ग्रन्थ सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा ग्रन्थको लोकार्पण गरिएको हो ।

जीवनवृत्तमा घनश्याम कँडेल, परिवार र स्वजनका दृष्टिमा घनश्याम कँडेल, समालोचनामा घनश्याम कँडेल, अन्तर्वार्तामा घनश्याम कँडेल, भूमिकाहरूमा घनश्याम कँडेल, घनश्याम कँडेलका आफ्ना भनाइहरू, घनश्याम कँडेलका दृष्टिमा विशिष्ट समालोचकहरू, सम्मान तथा तस्बिरमा घनश्याम कँडेलजस्ता शीर्षकहरू छन् । ग्रन्थको सम्पादन डा यज्ञेश्वर निरौलाले गर्नुभएको हो । 

वरिष्ठ समालोचक प्राध्यापक डा वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको लोकार्पण कार्यक्रममा ग्रन्थमाथि समालोचक प्रा डा रामप्रसाद ज्ञवाली र गीता त्रिपाठीले समीक्षात्मक मन्तव्य दिनुभएको थियो । 

यसैगरी नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, कवि देवी नेपाल, समालोचक पशुपति नेउपाने, सम्पादक निरौलालगायतले कँडेलको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागबाट सेवानिवृत्त कँडेलका सिर्जना र समालोचना गरी १४ वटा कृति प्रकाशित छन् ।

अङ्ग्रेजी, नेपाली र संस्कृत भाषाको गहन अध्येता कँडेलले आधा दर्जन खण्डकाव्य लेख्नुभएको छ । तीमध्ये ‘धृतराष्ट्र’ खण्डकाव्यले २०७३ सालको मदन पुरस्कार पाएको थियो । केही अन्वेषणः केही विश्लेषण, पाश्चात्य यथार्थादी नाटक, स्वच्छन्द विचरण कँडेलका समालोचनात्मक कृति हुन् ।

प्रकाशित मिति: ९ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्