‘बिचौलियाका कारण दुग्ध किसान समस्यामा’


 



काठमाडौँ, ७ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले बिचौलियाले गर्दा वास्तविक दुग्ध किसान भुक्तानीको समस्यामा परेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयमा भएको कृषि समितिको बैठकमा आज उहाँले दुग्ध विकास संस्थानका केही कर्मचारीको दादागिरीका कारण समस्या समाधान गर्न जटिल भएकोसमेत सुनाउनुभयो ।

उहाँका अनुसार संस्थानमा नौ सय कर्मचारी छन् जसमा छ सय स्थायी र तीन सय करारका छन् । करारका कर्मचारीले राम्रोसँग काम गरिररहेको भए पनि स्थायी कर्मचारीमा दादागिरी प्रवृत्ति देखिएको उहाँको भनाइ छ । “कहीँ नभएको जात्रा दुग्ध विकास संस्थानमा देखिएको छ”, उहाँले भन्नुभयो, “अब एक–दुई महिनाभित्र म सुधार गर्छु । यसका लागि ठूलै मूल्य चुकाउन परे पनि चुकाउँछु ।” बैठकमा उहाँले किसानलाई न्याय दिन संस्थानका कर्मचारी सुधार्न जरुरी रहेको बताउनुभयो । उहाँले मल वितरण प्रक्रियामा केही समस्या भए पनि यो पटक रोपाइँ गर्न मल अभाव नहुने जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागद्वारा कृषिमन्त्रीसमक्ष ‘ध्यानाकर्षण पत्र’ बुझाइएको थियो । विभागका प्रमुख एवं पुर्व राज्यमन्त्री जितु गौतमले ध्यानाकर्षण पत्र बुझाउँदै किसानको हितमा उल्लेख गरिएका बुँदा छिट्टै कार्यान्वयन गर्नुपर्ने बताउनुभएको थियो । 

ध्यानाकर्षण पत्रमा मन्त्रीलाई सुझावसहित १५ बँुदे सुझाव पेस गरिएको छ । बैठकमा उपस्थित सांसदहरुले किसानको राहत र कृषि सुविधाका बारेमा विभिन्न जिज्ञासा र प्रश्न राखेका थिए । कृषि मन्त्रालयका सचिव दीपककुमार खरालले किसानलाई मलको अभाव नभएको तर स्थानीय तहमा वितरणको प्रक्रिया अलि जटिल भएकाले समस्या आएको बताउनुभयो ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्