लुम्बिनी प्रदेश सरकारले गर्यो विपद्को पूर्व तयारी


 



दाङ, ७ असार । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले प्रकृति प्रकोपबाट हुने क्षतिलाई न्यूनिकरण गर्नका लागि जनस्तरमा नै सचेतनाको जरुरी रहेको बताउनुभएको छ ।


लुम्बिनी प्रदेश सरकारको आयोजना तथा प्रदेश सुरक्षा निकायको समन्वय एवम् सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त कृत्रिम अभ्यास प्रदर्शनीलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले बाढी, पहिरो डुबान र आगलागीबाट बार्षिक रुपमा ठुलो धनजनको क्षतिहुने गरेकाले यसको रोकथामका लागि प्रदेश सरकारले पूर्व तयारीका कार्यक्रमहरू गरिरहेको जानकारी दिनुभयो ।


हिमाल, पहाड र तराई भएको नेपालको भूगोलमा सबैतिर प्राकृतिक प्रकोप हुने गरेको छ । मुख्यमन्त्री महराले भन्नुभयो, ‘ पहाडमा पहिरो, तराईमा बाढी र डुबानले धनजनको क्षति पुराएको छ । आगलागी तथा अन्य प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्नका लागि राज्यको समन्यत्र सधै तयारी अवस्थामा रहनु पर्दछ ।’


प्राकृतिक प्रकोपबाट सुरक्षित हुनका लागि सर्वप्रथम व्यक्ति आफै सचेत हुनुपर्ने भन्दै मुख्यमन्त्री महराले प्राकृतिक विपद्लाई ध्यानमा नराखी निर्माण गरिएका आवास तथा वस्ती जोखिममा रहेको औंल्याउनुभयो ।


यातायात, सञ्चार, उद्धार उपकरण र तालिम प्राप्त उद्धारकर्ताका कारण विपद्का बेला उद्धार कार्य गर्न सहज भएको भन्दै मुख्यमन्त्री महराले उद्धारकार्यमा खटिनेहरु सँधै उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा खटिन आग्रह गर्नुभयो ।
लमही नगरपालिका वडा नं. ६ मध्यनगर दाङमा शुक्रवार गरिएको विपद् कृत्रिम अभ्यास कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले बाढी, पहिरो, डुबानबाट लुम्बिनी प्रदेश जोखिमपूर्ण रहेको बताउनुभयो ।
विपद्सँग सरोकार राख्नेहरू, सुरक्षाकर्मी, स्थानीय जनसमुदायहरू र तालिम प्राप्त उद्धारकर्ताहरूको सघन सहकार्यले नै विपद्को समयमा उपयोगी हुने भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्री पन्थीले सबैले हातेमालो गरेर अगाडि बढ्न सकिने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा मध्यपश्चिम पृतनापति उपरथी सुनिल श्रेष्ठले सामयिक सहकार्य समन्वय, विद्यमान नीति नियमको परिधिमा रहेर विपद्को क्षेत्रमा काम गरिने बताउनुभयो । उहाँले एकीकृत विपद् कृत्रिम अभ्यासले कार्यक्षेत्रमा काम गर्दा एकरूपता आउने भन्दै स्थानीय सरकारहरू संग सहकार्यको अपेक्षा गर्नुभयो ।


विपद् व्यवस्थापन सम्बन्धी संयुक्त कृत्रिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले विपद्का बेला गर्नुपर्ने कार्यहरूको विभिन्न प्रदर्शनी गरेर देखाएका थिए ।


लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकाल, स्थानीय सरकारका जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय सरोकारवाला निकायको कार्यक्रममा उपस्थित रहेको थियो ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्