हाजिरी जमानीमा छुटेका वकिल फरार भएपछि…


 


पोखरा । अनुसन्धानको क्रममा हाजिरी जमानीमा छुटेका एक वकिल फरार भएका छन् । पोखराको प्राइम सहकारी ठगीमा पक्राउ परी बार एशोसियसयनको रोहवरमा खोजेको बखत उपस्थित हुने गरी छुटेका वकिल इन्द्र बराल फरार भएका हुन् ।

सो सहकारीमा एक अर्ब ५७ करोड रकम हिनामिना भएको भन्दै गत हप्ता अदालतमा मुद्दा दायर भएको थियो । जसमा सात जनालाई बिहीबार अदालतले थुनामा पठाएको छ । अधिवक्ता बरालविरुद्ध समेत मुद्दा दायर भएको छ ।

मुद्दा दायर गर्ने समयमा उपस्थित हुने गरी उनलाई हाजिरी जमानीमा छाडिएकोमा उनी फरार भएका थिए । यसले सिंगो बार एशोसियनमाथि प्रश्न उठेको छ भने प्रहरी समेत विवादमा परेको छ । लिमेमतोमै उनलाई फरार बनाइएको हुनसक्ने पीडितहरुले आशंका व्यक्त गरेका छन् ।

प्रहरीले १० जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । जसमध्ये सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापा केसी, पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा र उत्तम मगर अदालतको आदेशमा जेल चलान भएका छन् ।

मनबहादुर गुरुङ (माने) रसन्तोष घिमिरे धरौटीमा छुटेका छन् । सो सहकारी ठगीमा संलग्न थप तीन जना शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका–१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा–३ तेर्सापट्टीका ४७ वर्षीय जीवन सार्की छन् । सो मुद्दामा सरकारी कर्मचारीसहित ५० भन्दा धेरै फरार छन् ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्