जनताको आशा र भरोसा जगाइ राख्न जोखिम लिएरै बोल्ड निर्णय गरेर जानुपर्छ : महामन्त्री ढकाल


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टी जोगाउने हो भने बोल्ड निर्णय गरेर जानुपर्ने बताएका छन् ।

पार्टी स्थापनाको दोस्रो वर्षगाँठको अवसरमा उनले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

उनले पार्टी जोगाउने हो, नेपाली जनताको आशा भरोसा जगाइ राख्ने हो भने पार्टीले उच्च सचेतनासहित जोखिम लिएरै भए पनि केही बोल्ड निर्णय गरेर जानुपर्ने बताए ।

गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुम्दै नेता–कार्यकर्ताको सुझाव सुनेपछि महामन्त्री ढकालले यस्तो निष्कर्ष निकालेका हुन् । उनले पार्टी जोगाउने, नजोगाउने, हाम्रो औचित्य के हो जस्ता गम्भीर र उच्च संवेदनशील प्रश्न खडा भएको पनि बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो ? गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि हामी खडा छौं,’ उनले भनेका छन्, ‘यो प्रश्न आइसक्यो र यो प्रश्न छ भनेर सार्वजनिक स्वीकारोक्ति गर्दै हामीले हामीमा केही परिवर्तन गरी अघि बढेनौं भने हाम्रा गाह्रा दिन सुरू भए।’

‘मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हच्किदैनौं। राष्ट्रिय स्वतन्त्र पार्टीप्रति विश्वास गरी यहाँसम्म ल्याइदिनु हुने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै दोश्रो वार्षिकोत्सवको शुभकामना एवं बधाई,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्