टी–२० विश्वकपः अफगानिस्तानमाथि भारत ४७ रनले विजयी
काठमाडौं, असार ७ । आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा अल आउट हुँदै १३४ रन मात्र बनाएपछि भारत ४७ रनले विजयी भएको हो ।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाइले सर्वाधिक २६ रन बनाए भने नाजिबुल्लाह जर्द्रानले १९ रन बनाएका थिए । त्यस्तै भारतका बलर अर्शदीप सिंह र जसप्रित बुमराहले ३–३ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३ रन बनाए भने हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४ तथा ऋषभ पन्तले २० रन बनाएका थिए । त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फजलहक फारुकीले ३–३ विकेट लिएका थिए।
यो जितपछि सुपर ८ को समूह एकमा रहेको भारतले २ अङ्क हासिल गरेको छ । अब भारतले अर्को खेल शनिबार राति बंगलादेशविरुद्ध खेल्दै छ भने अफगानिस्तानले आइतबार बिहान अस्ट्रेलियासँग खेल्दैछ ।
प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार