नकबापछि ६० लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित


 



काठमाडौ । सन् १९४८ को नकबा (प्यालेस्टिनीहरूको हिंसात्मक विस्थापन) पछि जबर्जस्ती विस्थापित भएकाहरूको दुर्दशालाई उजागर गर्दै प्यालेस्टाइन र डायस्पोरामा प्यालेस्टाइन शरणार्थीहरूका लागि राहत तथा सहयोगका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्ल्यूए) ले हालसम्म ६० लाखभन्दा बढी व्यक्तिले शरणार्थीका रूपमा आफूलाई दर्ता गरेको खुलासा गरेको छ ।

सन् २० मा संयुक्त राष्ट्रसङ्घको महासभाले स्थापना गरेको विश्व शरणार्थी दिवस (जुन २०) का अवसरमा यूएनआरडब्ल्यूएले जनवरी २०२२ सम्ममा आफ्नो अभिलेखमा करिब ५९ लाख दर्ता भएका प्यालेस्टिनी शरणार्थी रहेको उल्लेख गरेको छ ।

यीमध्ये करिब २५ लाख मानिस वेस्ट बैङ्क र गाजा पट्टीमा बस्छन् । यो सङ्ख्या कूल प्यालेस्टिनी शरणार्थी जनसङ्ख्याको करिब ४२ प्रतिशत हो । यसमध्ये वेस्ट बैङ्कबाट १५ प्रतिशत र गाजाबाट २७ प्रतिशत विस्थापित भएका हुन् ।

अरब देशहरूमा दर्ता भएका शरणार्थीहरूको वितरणको विस्तृत विवरण दिँदै यूएनआरडब्ल्यूएले लगभग ४० प्रतिशत प्यालेस्टिनी शरणार्थीहरू जोर्डनमा, आठ प्रतिशत लेबनानमा र १० प्रतिशत सिरियामा रहेका बताएको छ ।

यी आँकडाले प्यालेस्टिनी शरणार्थीहरूको न्यूनतम सङ्ख्यालाई प्रतिनिधित्व गर्छ । विस्थापितको तथ्याङ्कले दर्ता नभएका शरणार्थीहरूको अस्तित्वलाई स्वीकार गर्छ । यो गणनामा सन् १९४९ पछि १९६७ को युद्धसम्म विस्थापित भएकाहरूलाई समावेश गरिएको छैन र सन् १९६७ को युद्धका क्रममा विस्थापित भएका प्यालेस्टिनीहरूको पनि लेखाजोखा गरिएको छैन । उनीहरूसुरुमा शरणार्थी थिएनन् ।

प्रकाशित मिति: ६ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्