पहिरोले पुल बगाएपछि आवगमन ठप्प


 


सङ्खुवासभा, असार ६ । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएको छ ।

गएराति अविरल वर्षासँगै आएको बाढीपहिरोले इकुवा खोलामाथिको पक्की पुल बगाएको हो । मकालु गाउँपालिका–३ स्थित इकुवा खोलाको पुल बगाउँदा भोटखोला गाउँपालिकासम्मको आवागमन ठप्प भएको छ ।

पहिरोले मकालु–३ र भोटखोला–४ को बीचमा रहेको इकुवा खोलामाथिको पुल बगाउँदा उत्तरी क्षेत्रको यातायात आवगमन ठप्प भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख इञ्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार उत्तर–दक्षिण राजमार्गमा पर्ने उक्त पुल २० मिटर लामो थियो ।

पुल पिलरसहित बगाउँदा रु चार करोड बढीको क्षति भएको आयोजनाका प्रमुख कोइरालाले बताउनुभयो । उक्त पुल २०७९ सालमा निर्माण गरिएको थियो । पुल बगाएपछि मकालु गाउँपालिकाका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । यसअघि सदरमुकाम खाँदबारीबाट भोटखोलाको बरुणसम्मको ८० किलोमिटरसम्म यातायात सञ्चालन हुँदै आएको थियो ।

पहिरोले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडक खण्डमा क्षति पु¥याउनुका साथै गत जेठ ३१ गते राति आएको बाढीले कोशी राजमार्गस्थित सभाखोलाको पक्की पुल जोखिममा परेको इञ्जिनियर कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने हेवा खोला, चिचिला गाउँपालिका–२ र ३ जोड्ने खोलाका साथै अरुण तेस्रो पावर हाउस जाने छ्याङ र कागुवा खोलाको पक्की पुलमा समेत क्षति पुगेको छ ।

प्रकाशित मिति: ६ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्