राजा महेन्द्रका ज्वाइँले मृत्युको २२ वर्षपछि पाए भ्रष्टाचार मुद्दामा सफाइ


 


काठमाडौं । सार्वजनिक जग्गा आफ्ना नाममा दर्ता गराएको अभियोगमा भ्रष्टाचार मुद्दा लागेका तत्कालीन राजपरिवारका ज्वाइँ कुमार खड्गविक्रम शाहलगायतले विशेष अदालतबाट सफाइ पाएका छन् ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले जग्गा सार्वजनिक हुने ठहर गर्दै आरोपितहरूलाई सफाइ दिएको हो ।

विशेष अदालतले तयार पारेको रायमा भनिएको छ, ‘प्रतिवादीहरको उक्त कार्यमा कुनै बदनियत रहेको नदेखिंदा सबै प्रतिवादीहरूले सफाइ पाउने छन । उल्लेखित विवादको जग्गा सरकारी सार्वजनिक जग्गा रहेको फिल्डबुक समेतका मिसिल प्रमाणबाट पुष्टि हुन आएकाले जफत भई नेपाल सरकारको नाममा दर्ता कायम हुने ठहर्छ ।’

धनुषाको पिडारी चोक र रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियारले शाहसहित गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ भदौमा तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसहित ३१ जनाविरुद्ध करिब ३० करोडको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

राजा महेन्द्रकी छोरी शारदासँग बिहे गरेका कुमार खड्कविक्रम दरबार हत्याकाण्डमा २२ वर्ष अघि पत्नीसहित मारिएका थिए।

प्रकाशित मिति: ६ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्