भरतपुर भ्रमण वर्षमा यातायात भाडामा ४० प्रतिशत छुट


 


चितवन, असार ४ । चितवनका यातायात व्यवसायीले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा सार्वजनिक यातायातमा ४० प्रतिशत भाडा छुटको घोषणा गरेको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा भरतपुर रिङरोडमा चल्ने यातायातमा भाडा छुट गर्ने निर्णय गरिएको हो ।

चितवन छाहारी यातायात सेवा प्रालि, त्रिनेत्र यातायात सेवा प्रालि र ओम शान्ति यातायात सेवा प्रालिले भाडामा छुटको व्यवस्था गर्ने घोषणा गरेका हुन्। यी संस्थाका १५० वटा गाडी हरेक दिन पूर्वी चितवनबाट भरतपुरसम्म चल्छन्।

चितवन छाहारी यातायात सेवा प्रालिका अध्यक्ष वद्रिप्रसाद पौडेलले भ्रमण वर्षको प्रवर्द्धन गर्ने उद्देश्यले भाडामा छुटको व्यवस्था गरेको बताए । ६८ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई भाडा निःशुल्क गरिने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यातायातमा गरिएको भाडा छुटको सकारात्मक प्रभाव पर्यटनमा पर्ने विश्वास व्यक्त गरे।

भ्रमण वर्षमा महानगरले ७ वटा महत्वपूर्ण पर्यटकीय गन्तव्य र २१ पर्यटकीय स्थलहरुको प्रवर्द्धन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ५ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्