दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय


 


काठमाडौं । झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको छ ।

आयोगका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको आयोगका सदस्य सचिव एवम सहसचिव कृष्णप्रसाद काप्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

२०८० चैत १२ मा न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो । गत जेठ १४ मा सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई आदेश दिएको थियो ।

उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ को बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा।डा गोविन्द केसीले भने अदालतको आदेशको न्यायिक पुनरावलोकनको माग राखेका छन् ।

कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने डा।गोविन्द केसीले चेतावनी दिएका छन् ।

प्रकाशित मिति: ४ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्