सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप सुरु


 



पहिलो दिन दिनेश शीर्षस्थानमा, तोरण र एमेच्योर सुमन एक स्ट्रोकले पछि

काठमाडौ, ४ असार । सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिपको पहिलो दिन दिनेश प्रजापति ७–अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन।


उनले तोरण विक्रम शाही र एमेच्योर सुमन परियारलाई एक स्ट्रोकले पछि पारे। गोकर्ण गल्फ क्लबमा आज तोरण र सुमनले ६–अन्डर ६६ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थान बाँडे।


डिफेन्डिङ च्याम्पियन सुबाश तामाङ, भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्य ४–अन्डर ६८ सहित संयुक्तरुपमा चौथो स्थानमा रहे। ३–अन्डर ६९ को स्कोरमा एमेच्योर विजय श्रेष्ठ आइन्हाउस सातौं र अर्का एमेच्योर वाङचेन ढोन्डुप २–अन्डर ७० सहित वाङचेन ढोन्डुप आठौं स्थानमा छन।
१–अन्डर ७१ स्कोर खडा गरेका रवि खड्का, निरज तामाङ, धन बहादुर थापा र सञ्जय लामा तथा एमेच्योर तेन्जिङ पाल्देनले संयुक्तरुपमा नवौं स्थान बाँडे।
पहिलो दिन उत्कृष्ट स्कोर निकाल्ने क्रममा दिनेशले बोगी रहित ७–अन्डरको स्कोर दर्ज गरे। सात बर्डी प्रहार गरेका दिनेशले सुरूवात राम्रो गरे। दोस्रो, तेस्रो, चौथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। यसपछि ब्याक नाइनमा पनि यही लयलाई निरन्तरता दिए। १३ औं, १४ औं र १७ औं होलमा पनि एक(एक सट बचाए। उनले ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे।


तोरणले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। दोस्रो होलमा एक सट खेर फाले भने तेस्रो होलमा बर्डी प्रहार गरे। यसपछि ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे। १०औं, १३औं, १५औं र १७औं होलमा बर्डी प्रहार गरे। ५-पारको पाँचौ होलमा इगलको सफलता हात पार्दै ब्याक नाइन ६–अन्डर ३० मा सकाए।


एमेच्योर सुमनले उत्कृष्ट सुरूवात गर्दै फ्रन्ट नाइन ५-अन्डर ३१ मा सकाए। उनले तेस्रो देखि छैटौं होलमा लगातार चार बोगी प्रहार गरे। आठौं होलमा पनि एक सट बचाए। यसपछि दशौं होलमा एक सट खेर फाले भने ११औं र १३औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए।


पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन।
कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन। यस्तै चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ। दुई दिनको खेल पश्चात कट लागु हुनेछ। ३६ होलको समाप्तीमा उत्कृष्ट २१ र टाइमा पर्ने खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन। एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रोएम प्रतियोगिता शनिबार हुनेछ। जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ।

प्रकाशित मिति: ४ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्