युएईबाट प्रधानमन्त्री फर्केपछि मन्त्रीपरिषद विस्तार हुने


 


काठमाडाैं, माघ २

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले बताए ।

‘अबुधाबी भ्रमण सकेर प्रधानमन्त्री फर्केलगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ खनालले भने । प्रधानमन्त्री प्रचण्ड युएईका युवराज सेख मोहम्मद बिन जायेद अल नह्यानको निमन्त्रणामा वल्र्ड फ्युचर इनर्जी समिटमा भाग लिन शनिबार युएई प्रस्थान गरेका छन् ।

राप्रपा र फोरम लोकतान्त्रिकका अध्यक्षलाई नै सरकारमा सहभागी गराउने गरी प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गरेको खनालले बताए । प्रधानमन्त्रीले राप्रपालाई अहिलेका दुई मन्त्रालय कायम राख्दै उपप्रधानमन्त्रीसहित थप तीनवटा मन्त्रालय दिने भएका छन् ।

फोरम लोकतान्त्रिकलाई पनि उपप्रधानमन्त्रीसहित दुई र साना दुई दललाई एक–एक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी छ । तर, कुन–कुन मन्त्रालय कसलाई दिने भन्ने टुंगो भने लागिसकेको छैन ।

प्रकाशित मिति: २ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्