शीतल निवासमा यसरी हुँदैछ बिहेको चटारो


 


काठमाडाैं, माघ २

शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ।राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ।

उनको विवाहको लगन सोमबार जुराइएको छ। अाजकाे कान्तिपुर दैनिकका अनुसार निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह हुन लागेको हो।

दुलाहा बन्न लागेका अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवम् महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन्। दुई महिनाअघि नै दुईबीच शीतल निवासमा इन्गेजमेन्ट भएको थियो।

समावेशीको नमुनासमेत रहेको यस विवाहले पूर्व र वर्तमान राष्ट्रपति परिवारलाई पारिवारिक साइनोमा बाँधेको छ । सोमबार बिहान १० बजे राष्ट्रपति निवासको पुरानो भवनमा वैवाहिक कार्यक्रम राखिएको छ ।

कोसी हलको अघिल्तिरको खाली भागमा जग्गे तयार पारिएको छ । विवाह समारोह झकिझकाउ बनाउने काम भइसकेको छ । तर, स्रोतले दिएको जानकारीअनुसार वैवाहिक कार्यक्रमलाई भने संक्षिप्त र सामान्य नै बनाइएको छ ।

राष्ट्रपति भण्डारीले दुलाहा पक्षलाई पनि बढी तामझाम नगर्न सुझाव दिएको स्रोतले जानकारी दिए । सामाजिक व्यवहार सुधार ऐनमा ५१ जनाभन्दा बढी जन्ती ल्याउन नहुने उल्लेख छ । राष्ट्रपतिका तर्फबाट पनि धेरै निम्तालु छैनन् ।

दुलाहा पक्षलाई पनि ५१ जनाभन्दा बढी जन्ती नल्याउन आग्रह गरिएको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र मन्त्रीहरू, राजनीतिक दलका अध्यक्षलाई कार्यक्रममा बोलाइएको छ । निम्तोपत्रमै कुनै नगद वा जिन्सी नल्याउन आग्रहसमेत गरिएको छ । २९ वर्षीय अभिषेक बूढानीलकण्ठ स्कुलमा अध्ययनताकाकै निशाकुसुमका सहपाठी हुन् ।

इन्जिनियरिङ पढेका अभिषेकले बेलायत सरकारको चेभेनिङ छात्रवृत्तिमा लन्डनबाट समेत उच्च शिक्षा लिएका छन् । निशाकुसुमले भने नयाँदिल्लीबाट एमबीबीएस गरेकी छन् ।

एमालेका तत्कालीन महासचिव दिवंगत मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीका दुई छोरी छन् । विवाहकै पूर्वसन्ध्यामा राष्ट्रपति भण्डारीले शनिबार बिहान नक्सालस्थित बालमन्दिरमा आश्रय लिएका बालबच्चालाई भोजन गराएकी थिइन् ।

उनीहरूलाई शीतल निवासमै बोलाइएको थियो । छोरी निशाकुसुम पनि साथै थिइन् ।

प्रकाशित मिति: २ माघ २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्