चार करोड विदेशी रुपैयाँसहित तीन चिनियाँ पक्राउ


 


काठमाडौँ, माघ १

प्रहरीले रु चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ ।

महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बा १ ञ १२३२ नं को पर्यटक स्कारपियो गाडीबाट दुई महिला र एक पुरुष चिनियाँ नागरिकका साथै सो गाडीको नेपाली चालकलाई नागढुङ्गाबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई लाख ६० हजार अमेरिकी डलर, एक लाख १८ हजार युरो, केही मात्रामा अस्ट्रेलियन डलर, स्विस डलर र जापानी ऐनसमेत बरामद गरेको महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विदेशी रकमको अवैध कारोबार भइरहेको सूचनाको आधारमा हामीले उनीहरुलाई ठमेलबाट निगरानी गरेका थियौँ, नागढुङ्गा पुगेपछि राति साढे दुई बजे पक्राउ ग¥यौँ ।” सो रकम रसुवा नाका हुँदै चीन लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले झोला र सुटकेसमा ‘फल्स बटम’ बनाई सो रकम लैजान लागेका थिए । प्रहरीले यति ठूलो परिणाममा विदेशी रकमसहित चिनियाँ नागरिक पक्राउ परेको सम्भवतः पहिलो भएको जनाएको छ ।

प्रकाशित मिति: १ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्