विकास र राजनीतिलाई सँगै लैजानुपर्छः एमाले उपाध्यक्ष पौडेल


 


लुम्बिनी, ३२ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताउनुभएको छ ।

उहाँले नेकपा एमालेका सबै नेता तथा कार्यकता विकाससँग जोडिनुपर्ने बताउनुभयो । एमाले रुपन्देहीको १०औँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आज बुटवलमा आयोजित शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले जिल्लामा पार्टीलाई एकताबद्ध बनाइ जनतासँग जोडिएर काम गर्न निर्देशन दिनुभयो । अधिवेशनले पार्टीको जीवनमा नयाँ जोस सञ्चार गरेको बताउँदै सशक्त पार्टी निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब पार्टीमा अन्तरविरोध र अलमल हुनेछैन अब अग्रगति र प्रगति हुने छ ।”

पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका नेता पौडेलले रुपन्देहीको पार्टी पङ्क्तिलाई प्रभावकारी रुपमा परिचालन गरी हरेक विकास निर्माणमा निगरानी र खबरदारी गर्न आग्रह गर्नुभयो । उहाँले नयाँ नेतृत्वमा सम्भावनालाई साकार पार्ने, आन्तरिक एकता बलियो बनाउने, सङ्गठन सुदृढ, गतिशील, अनुशासित बनाउने जिम्मेवारी थपिएको बताउनुभयो ।

उहाँले जनताका सुखदुःखसँग र समस्यासँग जोडिएको राजनीति गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिँदै राजनीतिमा क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले नेता र जनप्रतिनिधिबीच तालमेल नहुँदा धेरै कामको उठान नभएकाले पार्टीका तर्फबाट तिनै तहका सरकारमा सहभागी जनप्रतिनिधिबीच तालमेल जरुरी रहेको धारणा राख्नुभयो ।

पार्टीकै पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टीको नीति तथा सिद्धान्तलाई जनताको जीविकोपार्जनसँग तारतम्य मिलाएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले नयाँ नेतृत्वले थप कुशलतापूर्वक काम गर्नुपर्ने बताउनुभयो । यही जेठ २५ गते सम्पन्न जिल्ला अधिवेशनले यज्ञ गैरेको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चयन गरेको हो ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्