उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट


 


काठमाडौँ, ३२ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जन–राजनीतिक परामर्शदात्री सभा (सिपिपिसिसी)को राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।

आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उहाँहरुबीच शिष्टाचार भेट भएको हो । भेटघाटमा शुभकामना आदानप्रदानका साथै नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, उच्च तथा जनस्तरीय भ्रमण, परस्पर सहयोग, व्यापार तथा पर्यटनलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

हाल कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीसमेत सम्हालिरहनुभएका यादवले बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणप्रति खुसी व्यक्त गर्दै नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्द्रपूर्ण एवं अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरुमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ठ र उच्च बनेको बताउनुभयो । “हामी दुई मुलुकले लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्व दिएका छौँ”, उहाँले भन्नुभयो, “नयाँ उचाइ र आयाममा पुगेको नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकहरुको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण आधारशिला प्रदान गरेको छ ।”

दुई देशबीचको उच्चस्तरीय भ्रमणले सम्बन्धलाई थप उचाइमा पु¥याएको तथा सहकार्यका क्षेत्रमा थप विस्तार गर्न मद्दत मिलेको पनि उपराष्ट्रपति यादवको भनाइ थियो । “छिमेकी मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको छ”, उहाँले भन्नुभयो, “चीनले झन्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”

उहाँले सन् २०२६ सम्म नेपाल अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको र तीव्र आर्थिक एवं सामाजिक विकाससँगै नेपाली नागरिकको उन्नति र समृद्धिका लागि चीनले स्तरोन्नति हुनुपूर्व र पश्चात् थप सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेको, द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षबाट नेपाललाई तुलनात्मक लाभका क्षेत्रमा उत्पादकत्व बढाउनका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुमा सहयोगका लागि चीन सरकारलाई उहाँले आग्रह गर्नुभयो ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पु¥याउनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताउँदै उपराष्ट्रपति यादवले आगामी दिनमा पोखरा र चीनका विभिन्न सहरबीच व्यावसायिक उडान सुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

चीन सरकारले हालै (१ मे २०२४) देखि लागू हुने गरी चीन भ्रमण गर्ने नेपालीका लागि भिसा शुल्क मिनाहा गरेको र किमान्थाङ्का–चेन्ताङलगायत नाकाको पुनः उद्घाटन हुनाले हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान गरेको छ उहाँले भन्नुभयो ।

चीनको ३०औँ चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रिय कमिटीका सदस्य तथा १४औँ सिपिपिसिसीका राष्ट्रिय कमिटी उपाध्यक्ष बेटरले चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल र सुदृढ बनाउने पक्षमा चीन रहेको बताउनुभयो । उहाँले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप दिगो, बलियो र प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै नेपालको विकासमा चिनियाँ सहयोग निरन्तर जारी रहने बताउनुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्