माओवादीले गर्यो ‘फ्लोर क्रस’ गर्ने देवकोटालाई कारबाही, के हुन्छ अब ?


 


पोखरा, जेठ ३२ । माओवादी केन्द्रले गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने फणीन्द्र देवकोटालाई कारबाही गरेको छ ।

पार्टीको ह्वीप उल्लंघन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रदेशसभा सदस्य निर्वाचित भएका देवकोटा कारबाहीमा परेका हुन् ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले उनीमाथि कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि सभामुख कृष्ण धितालले त्यसको जानकारी शुक्रबारको प्रदेशसभा बैठकमा दिएका हुन् ।

यसअघि माओवादीले देवकोटालाई स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।

फ्लोर क्रसपछि देवकोटा पाण्डे सरकारमा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् । माओवादीले कारबाही गरेको पत्र दिएसँगै सांसदनै नहुने स्थितिमा अब उनको मन्त्री पद के हुने भन्ने स्पष्ट भैसकेको छैन ।

संविधान अनुसार सांसद नभएको व्यक्ति पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ । तर देवकोटा निलम्बन हुने गरी भएको कारबाहीको सूचना विरुद्ध सर्वोच्च जाने तयारीमा छन् ।

उनलाई सर्वोच्चले थमौती गरे पद रहन्छ भने नभए ६ महिनाभित्र गोरखा क्षेत्र नम्बर २ (१) मा निर्वाचन हुनेछ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजबादी पार्टीका देवकोटा यसअघिको निर्वाचनमा माओवादीको चुनाव चिन्हबाट काँग्रेस माओवादी गठबन्धनको सहयोगमा चुनाव लडेका थिए ।

प्रकाशित मिति: ३२ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्