उत्तर कोरियाको भ्रमणका लागि पुटिनको तयारीलाई नजिकबाट नियालिरहेको दक्षिण कोरियाको भनाइ


 


सियोल । दक्षिण कोरियाले बिहीबार आफ्नो कट्टर शत्रु उत्तर कोरियाको सम्भावित भ्रमणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तयारीलाई ‘नजिकबाट नियालिरहेको’ बताएको छ ।

उत्तर कोरिया र रुस दुवै अन्तर्राष्ट्रिय प्रतिबन्धको अधीनमा छन् र सन् २०२२ मा युक्रेनमा आक्रमणपछि यी दुई मुलुकबीचको सम्बन्ध गहिरो भएको छ ।

उत्तर कोरियामाथि युक्रेनमा युद्धका लागि रुसलाई हतियार उपलब्ध गराएको आरोप लगाइएको छ । क्रेमलिनले ‘अनावश्यक’ भन्दै उक्त आरोपको खण्डन गरेको छ ।

पुटिनको अपेक्षित भ्रमणका लागि कुनै पनि पक्षले भ्रमण कार्यक्रमको पुष्टि गरेको छैन ।

“सरकारले राष्ट्रपति पुटिनको उत्तर कोरियाको भ्रमणको तयारीलाई नजिकबाट नियालिरहेको छ”, दक्षिण कोरियाको विदेश मन्त्रालयले भनेको छ, “रुस र उत्तर कोरियाबीचको आदान–प्रदान तथा सहयोग सुरक्षा परिषद्को प्रस्तावको पालना गर्दै कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरतामा योगदान दिने तरिकाले हुनुपर्छ ।”

क्रेमलिने गत महिना रुसी सरकारी मिडियालाई भ्रमणको ‘तयारी भइरहेको’ बताएको थियो ।

गत महिना पेन्टागतले एक रिपोर्टमा भग्नावशेषको विश्लेषण गर्दै रुसले उत्तर कोरियाली ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोग गरिरहेको बताएको थियो ।

पुटिनको अपेक्षित भ्रमणका क्रममा उत्तर कोरियाले रुसबाट खाद्यान्न र ऊर्जा आयातको बदलामा युक्रेनमा प्रयोग हुने थप युद्ध सामग्री निर्यात गर्न दबाब दिने विश्लेषकहरूले बताएका छन् ।

यसअघि बिहीबार दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीले पुटिनको ‘केही दिनमा’ उत्तर कोरियाको भ्रमण हुने अपेक्षा गरिएको बताएका थिए । अधिकारीका अनुसार सोलमा दक्षिण कोरियाली र चिनियाँ अधिकारीहरूबीच हुने भेटघाटको समयमै पुटिनको उत्तर कोरियाको भ्रमण हुनेछ ।

दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका अनुसार उक्त बैठक आगामी साताको सुरुमा हुने भएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाका नेता किम जोङ उनले बुधबार रुससँगको आफ्नो मुलुकको सम्बन्धको प्रशंसा गर्नुभएको थियो ।

बुधबार आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) मा पुटिनलाई दिइएको सन्देशमा किमले लेख्नुभएको छ, “उत्तर कोरिया र रुसबीचको सम्बन्ध कमरेड्स–इन–आर्म्सको अटुट सम्बन्धमा विकसित भएको छ ।”

केसिएनएका अनुसार किमले दुई मुलुकबीचको ‘सार्थक’ सम्बन्धले नयाँ युगमा ‘अनन्त कोसेढुङ्गालाई थप बलियो बनाउने’ बताउनुभएको छ ।

किमले गत वर्ष रुसमा पुटिनसँग भेट गर्न दुर्लभ विदेश भ्रमण गर्नुभएको थियो । सो बेला उहाँले मस्कोसँग उत्तर कोरियाको सम्बन्ध आफ्नो मुलुकको ‘एक नम्बर प्राथमिकता’ रहेको बताउनुभएको थियो ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्