अमेरिकाबाट ल्याइएको वासिङ मेसिनभित्र भेटियो गाँजा


 


काठमाडौं, जेठ ३१ । गत वर्षको चैत्र ४ गते कतार एअरलाइन्समार्फत अमेरिकादेखि नेपालमा मगाइएको एउटा वासिङ मेसिनमा गाजा भेटिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको कार्गो कम्प्लेक्सको आयाततर्फको गोदाममा राखिएको वासिङ मेसिन खोलेर हेर्दा फल्स बटन बनाएर २० किलो गाँजा लुकाएको फेला परेको थियो ।

लामो अनुसन्धानपछि लागु औषध नियन्त्रण ब्यूरोको टोलीले वासिङ मेसिन मगाउने कम्पनी सुशान्त इम्पेक्सका सञ्चालक सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ घर भई काठमाडौं बस्दै आएका ३९ वर्षीय सुखल राउत र उनकी श्रीमती ३५ वर्षीया शान्ति तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध लागु औषधसम्बन्धी कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंबाट मुद्दा दायर गरेको छ । १० किलो भन्दा बढी गाँजा ओसारपसार गरेको भन्दै उनीहरुविरुद्ध दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना माग गरिएको छ ।

सुखल दम्पतीले करिब २ वर्षअघि सुशान्त इम्पेक्स नामक दर्ता गरेर विदेश सामान पठाउने काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर पक्राउ परेका दम्पतीले उक्त गाँजा आफूहरुले नमगाएको दाबी गरेका छन् ।

गत २ चैत २०८० मा सुखलसँग चिनजान भएका विशाल जैसवालले आफूहरुको कम्पनीमार्फत वासिङ मेसिन मगाएको र त्यसभित्र गाँजा भेटिएको भनाइ सुखल दम्पतीको छ ।

सबै खर्च ब्यहोर्ने भन्दै विशालले अर्डर गरेपछि वासिङ मेसिन अमेरिकाबाट आफूहरुको कम्पनीको नाममा आएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्