विश्वकप क्रिकेट : अमेरिकालाई पराजित गर्दै भारत अन्तिम आठमा
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा अमेरिकालाई ७ विकेटले हराएर भारतले लगातार तेस्रो खेल जितेको हो । योसँगै भारत सुपर आठमा पुग्न सफल भएको छ ।
यसअघि भारतले पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको थियो । हिजोको खेलमा अमेरिकाले दिएको १ सय ११ रनको लक्ष्य भारतले १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा भेट्टायो ।
भारतका लागि सूर्यकुमार यादवले अविजित ५० रन बनाए । अमेरिकाका सौरभ नेत्रभल्करले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो । उसका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए ।
भारतका अर्शदीप सिंहले ४ विकेट लिए । समूह एमा रहेको भारत ६ अंक जोडेर सुपर ८ मा प्रवेश गरेको छ। अमेरिका ४ अंक सहित दोस्रो, पाकिस्तान र क्यानडा समान दुई अंक सहित तेस्रो र चौथों स्थानमा छन्।
प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार