कानुन बनाउने कार्य आफैँमा जटिल विषय होः मुख्यमन्त्री कार्की


 



दमक, ३० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानुन बनाउने काम सहज नभएको बताउनुभएको छ ।

प्रदेशसभा सचिवालयले झापाको गौरादहस्थित नमूना कृषि सहकारीको भवनमा आज आयोजना गरेको ‘प्रदेश तथा स्थानीय तहमा कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था’ विषयक कार्यक्रममा उहाँले कानुन निर्माण गर्दा देशको संविधान अध्ययन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

कतिपय स्थानीय र प्रदेश सरकारले बनाएका कानुन संविधानसँग बाझिने गरी आएको स्मरण गर्दै उहाँले संविधान अध्ययन गरेर आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिनुभयो । कानुन बनाउने काममा गम्भीर हुन उहाँको आग्रह छ । उहाँले कानुन बनाउँदा शब्दशब्दमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पढेर मात्रै कानुन बनाउन नजानिने भएकाले कानुन बनाउने काम सबैभन्दा कठिन भएको मुख्यमन्त्री कार्कीको धारणा छ । कानुन निर्माणका लागि सङ्घीयता आएको पछिल्लो छ सात वर्षको समय पर्याप्त रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सुशासनका लागि पनि कानुन अति आवश्यक भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ ।”

उहाँले कानुन बनाएपछि राजस्व उठाउनसमेत सहज हुने र त्यसले स्थानीय तह र प्रदेश सरकारलाई विकास निर्माणमा बजेट विनियोजन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले स्थानीय तहलाई कानुन निर्माणका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवार, प्रदेश सांसद होमबहादुर थापा, तारादेवी ढकाल, नम्बरलाल धिमाल, कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुली, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीलगायत स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ३० जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्