गणतन्त्रमा केही भएन भन्ने भाष्य गलत : योगेश भट्टराई


 


काठमाडौँ, जेठ ३० । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले गणतन्त्र स्थापनापछि मुलुकमा केही भएन भन्ने खालको भाष्य गलत भएको बताउनुभएको छ ।

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले सडक, पूर्वाधार, पर्यटन, स्वास्थ्य, जलविद्युत् आदि क्षेत्रमा प्राथमिकताका साथ विकास र निर्माण भइरहेको छ भन्नुभयो ।

उहाँले अझै दूरदराजका जनताका अपेक्षा र चाहनालाई सम्बन्धित सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै गणतान्त्रिक व्यवस्थालाई सबल बनाएर जानुको विकल्प नभएको स्पष्ट गर्नुभयो । उहाँले राससले आयोजना गरेका तस्बिर प्रदर्शनीले गणतन्त्रपछिका विकास निर्माणका उपलब्धिलाई आधारभूतरुपमा प्रस्तुत गरेको बताउनुभयो ।

सोही अवसरमा नेता भट्टराईले मुलुकका आधिकारिक समाचार समितिका रुपमा रहेको राससको छिमेकी भारत र चीनका साथै संयुक्त राज्य अमेरिकामा आवासीय प्रतिनिधि राख्न आफूहरुले पहल गर्दै आएको जनाउनुभयो । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससका समाचार सङ्कलन, सम्पादन र वितरण प्रक्रियाबारे अवगत गराउनुभएको थियो ।

नेता भट्टराईलाई राससका महाप्रबन्धक सिद्धराज राईले भद्रकाली परिसरमा स्वागत गर्दै समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीबारे अवगत गराउनुभएको थियो । यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट उद्घाटन भएको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहनेछ ।

प्रकाशित मिति: ३० जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्