क्यानले अनियमितता गरेको आरोप, छानबिन आयोग गठन गर्न माग


 


काठमाडौँ, जेठ ३० । नेकपा एमालेका सांसद भीम आचार्यले टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले अनियमितता गरेको आरोप लगाउँदै छानविन गरेर कारबाही गर्नुपर्ने माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेता आचार्यले क्यान पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न छानविन आयोग गर्नुपर्ने माग गरेका हुन् ।

नेपाली खेलाडीको टोलीमा सन्दीप लामिछानेलाई १५ जनाको टिममा सहभागी नगराएर भिसा पाउनबाट वञ्चित गराएको तथा सपोर्टिङ १० जनाको टोलीमा डाक्टर पठाउनुपर्नेमा एक जना महिलालाई राख्दा आइसीसीले अस्वीकार गरेको बताए ।

त्यस्तै उनले खेलाडीलाई होटलमा उभ्याएको, जर्सी अमेरिका लगेर महँगोमा बेचेको गुनासो आएको तथा अमेरिकामा बस्ने नेपालीहरूले अवैध रूपमा चन्दा उठाएर क्यानको खातामा नराखेको लगायतका अनियमितताका गुनासाहरू व्यापक आएको बताए ।

उनले ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको भन्दै क्यान नेतृत्वले आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभई हराउन भूमिका खेलेको र खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको पनि बताए ।

प्रकाशित मिति: ३० जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्