सुन तस्करीमा संलग्न दुई अधिकृत पक्राउ


 


काठमाडौं, पुस २८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याईँदै गरिएको करिब ३३ किलो सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले विमानस्थल भन्सारमा कार्यरत २ जना अधिकृतलाई नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भन्सारका अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई नियन्त्रणमा लिएको हो ।

सुन तस्करीको घटनाको अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएकाले ढकाल र यादवलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) प्रमुख नवराज सिलवालले जानकारी दिए । सिलवालले घटनाको अत्यन्तै गम्भीर ढंगले छानबिन गरिरहेको भन्दै घटनामा संलग्न जो सुकै भए पनि यसलाई कारबाहीको दायरामा ल्याउने बताए ।

सिलवालले सुन तस्करीसम्बन्धी यो घटनाको अनुसन्धानका लागि राजनीतिक दल र सरकारले समेत आफूलाई सहयोग गरिरहेको भन्दै छिट्टै यसको वास्तविकता बाहिर ल्याउने विश्वास व्यक्त गरे । यही पुस २१ गते दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं भित्र्याउन लागिएको झन्डै ३३ किलो सुनसहित बाँकेका गोपालबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

सुन लिन विमानस्थलमा पुगेका दीलबहादुर थापा र सन्तोष काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । घटनापछि विमानस्थल भन्सारका २९ जना कर्मचारीलाई जिम्मेवारीबाट मुक्त गराएर अनुसन्धान हुँदै आएको छ ।

प्रकाशित मिति: २८ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्