बाइडेनद्वारा युक्रेनका लागि साढे २२ करोड डलरको नयाँ सहायता घोषणा


 



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार युक्रेनलाई थप २२ करोड ५० लाख डलरको सुरक्षा सहायता घोषणा गर्नुभएको छ ।

पेरिसमा वार्ताका लागि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगको भेटमा उहाँले युक्रेनका लागि आफ्नो समर्थन दिने वाचा गर्दै उक्त घोषणा गर्नुभएको हो ।

बिहीबार उत्तरी फ्रान्सको प्रतीकात्मक डि–डे समारोहमा भाग लिएपछि बाइडेनले जेलेन्स्कीसँग भन्नुभयो, “अमेरिका तपाईँसँग उभिएको छ ।” उहाँले कांग्रेसमार्फत नयाँ सहायता प्राप्त गर्न भएको ढिलाइप्रति पनि खेद व्यक्त गर्नुभयो । “तपाईं झुक्नुभएको छैन, तपाईंले लडाइँ जारी राख्नुभयो जुन उल्लेखनीय छ”, उहाँले जेलेन्स्कीसँग भन्नुभयो ।

नयाँ प्याकेजमा हवाई रक्षा इन्टरसेप्टर, तोपखाना गोलाबारुद र अन्य ‘महत्त्वपूर्ण क्षमताहरू’ समावेश रहेको ह्वाइट हाउसले एक विज्ञप्तिमा बताएको छ । “युक्रेनका लागि अमेरिकी समर्थन अटुट छ भनेर राष्ट्रपतिले जोड दिनुभएको छ”, विज्ञप्तिमा उल्लेख छ । दुवै नेता इटालीमा आगामी जि७ शिखर सम्मेलनमा पुनः भेट्न सहमत हुनभएको विज्ञप्तिमा जनाइएको छ ।

अर्को भिन्नै विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले सुरक्षा प्याकेजमा युक्रेनलाई सबैभन्दा आवश्यक युद्धक्षेत्रको आवश्यकताहरू पूरा गर्न हतियार प्रदान गरिने बताएको छ । यसमा स्टिङ्गर एन्टी–एयरक्राफ्ट मिसाइल, एचआइएमएआरएस सिस्टमका लागि गोलाबारुद र १५५ मिमी तथा १०५ मिमी तोपखाना राउन्ड रहेका छन् ।

जेलेन्स्कीले शुक्रबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि वार्ता गर्ने तयारी गर्नुभएको थियो । म्याक्रोनले बिहीबार युक्रेनलाई मिराज २००० लडाकू विमानहरू हस्तान्तरण गर्ने र नयाँ सैन्य सहयोगको हिस्सास्वरूप युक्रेनी पाइलटहरूलाई तालिम दिने बताउनुभएको थियो ।

प्रकाशित मिति: २५ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्