मोदी फेरि बने एनडीएको नेता


 


एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले नरेन्द्र मोदीलाई सर्वसम्मतिले आफ्नो नेता चयन गरेको छ ।

योसँगै मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका हुन् । लोकसभा चुनावमा सत्तारूढ गठबन्धनले बहुमत पाएको एक दिनपछि बुधबार दिल्लीको ७ लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवासमा एनडीएका वरिष्ठ नेताहरूको बैठकले मोदीलाई नेता बनाएको हो ।

बैठकमा उपस्थित सबै घटक दलहरूले प्रधानमन्त्री मोदीको नेतृत्वमा विश्वास व्यक्त गर्दै उनको नेतृत्वमा भारतका गरिब, महिला, युवा, किसान, शोषित, वञ्चित र उत्पीडित नागरिकको सेवा गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरे ।

भाजपाले आफ्नै बलमा बहुमत नपाएकाले सरकार बनाउन सहयोगीहरूमा भर पर्नु परेको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक हुन्छ । एनडीएले २९२ सिटमा जित हासिल गरेको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्