आजको मौसम : यी स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार