मोदीलाई प्रचण्डको फोन, भने – अब गठन हुने सरकारसँग सहकार्य गर्न तत्पर छु


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन् ।

त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए । प्रधानमन्त्री मोदीले समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताए।

‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । उहाँको न्यानो शुभकामनाको लागि धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,’ प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै यहाँस्थित भारतीय राजदूतावासले भनेको छ ।

लोकसभा निर्वाचन परिणामअनुसार भारतमा एनडीए गठबन्धनले २९२ सिट जितेको छ । प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले २४० सिट जितेको छ ।

एनडीएले बहुमत ल्याएको छ । यससँगै मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनले २३४ सिट जितेको छ । रासस

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्