मानवतामाथि जलवायु प्रभाव डायनासोर समाप्त हुने उल्कापिण्ड जस्तैः राष्ट्रसङ्घ प्रमुख


 



काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका डायनासोरलाई लोप गराउने उल्कापिण्ड समान भएको बताउनुभएको छ ।

उहाँले जीवाश्म इन्धनको विज्ञापनमाथि प्रतिबन्धसहित द्रुत कदम चाल्न आह्वान गर्नुभयो । “अर्बौं वर्षमा पृथ्वीमा जीवनको आकार दिने शक्तिहरूमध्ये मानवता राडारमा एउटा सानो झट्का मात्र हो”, न्युयोर्कमा अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा उहाँले भन्नुभयो, “तर डायनोसरलाई मेटाउन उल्कापिण्डले जस्तै हामीले ठूलो प्रभाव पारिरहेको छौँ ।”

“जलवायु मामिलामा हामी डायनोसर होइनौँ, हामी उल्कापिण्ड हौँ, हामी खतरामा मात्र छैनौँ, हामी खतरा हौँ”, उहाँले भन्नुभयो । 

महासचिव गुटेरेसले युरोपेली आयोगको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसले बुधबार आधिकारिकरूपमा सन् २०२४ मेमा रेकर्ड गरिएको इतिहासमा सबैभन्दा तातो भएको रिपोर्ट गर्ने बताउनुभयो । 

“यो अहिलेसम्मको सबैभन्दा तातो महिनामध्येको लगातार १२ महिना हो”, उहाँले भन्नुभयो । यद्यपि उहाँले आशावादीरूपमा मानव ‘समाधान’ पनि हो भन्दै तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्नका लागि ठोस कारवाही चाल्न पुनः आग्रह गर्नुभयो । 

महासचिव गुटेरेसले करिब एक दशक पुरानो पेरिस सम्झौताको सबैभन्दा महत्त्वाकांक्षी उक्त लक्ष्य ‘धेरै खतरनाक अवस्थामा रहेको’ बताउनुभयो । 

विश्वव्यापी वार्षिक औसत तापक्रम आगामी पाँच वर्षमा कम्तीमा एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नाघ्ने सम्भावना ८० प्रतिशत रहेको रिपोर्ट दिन राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठन बुधबार तयार रहेको उहाँले बताउनुभयो । 

“सन् २०२० को दशकमा एक दशमलव पाँच डिग्रीको लडाइँ जितिने वा हारिने भन्ने आजका नेताहरूको निगरानीमा भर पर्छ, विशेषगरी आगामी १८ महिनामा नेताहरूले लिने निर्णयमा भर पर्छ”, उहाँले भन्नुभयो । 

पेरिस सम्झौतामा हस्ताक्षर गर्ने मुलुकहरूले सन् २०२५ को प्रारम्भसम्ममा नयाँ हरितगृह ग्यास उत्सर्जन कटौतीको लक्ष्य प्रस्तुत गर्नुपर्नेछ । 

प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्