पाएनन् मधेसका मुख्यमन्त्रीले विश्वासको मत, ढल्यो जसपा नेपालको सरकार


 


जनकपुर, २३ जेठ । विश्वासको मत नपाए पछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् ।

बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।

१०३ सांसद उपस्थित प्रदेश सभामा मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरे ।

२३ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए ।

गठबन्धन फेर बदल हुँदा मुख्यमन्त्री यादवले यसअघि चारपटक विश्वासको मत लिँदा पनि सुरक्षित थिए । तर, पाँचौपटक विश्वासको मत लिने बेला सदनमै उनी मुख्यमन्त्री पद गुमाएका छन् ।

प्रकाशित मिति: २३ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्